सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रालय बाँडफाँटमा प्रधानमन्त्री प्रचण्डलाई सकस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट दोस्रो पटक विश्वासको मत लिएसँगै मन्त्रिमण्डल पुनर्गठनको तयारी थाल्नुभएको छ ।

एक/दुई दिनभित्रै सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डले यसअघि चैत १० गतेभित्र सरकारलाई पूर्णता दिने बताउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सांसद संख्याको आधारमा भागबन्डा मिलाउने गरी प्रस्ताव अघि सार्नुभएको छ । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी भागबन्डाको खाका बनाउनुभएको छ ।

सांसदहरुको संख्याको आधारमा भागबन्डा मिलाउँदा १० मन्त्रालय दाबी गरेको कांग्रेसलाई ८ वटा दिने प्रचण्डको प्रस्ताव छ । स्रोतका अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय राख्दा यसअघि तीन मन्त्रालय पाएको जसपा र तीन वटै मन्त्रालयको दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई दुई/दुई मन्त्रालय दिएर मनाउने प्रयास भइरहेको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति पाइसकेकाले अहिले जसपा दुई मन्त्रालयमै सहमत हुने सम्भावना छ । यस्तै, कोशी प्रदेशको मुख्यमन्त्री दिएर नेकपा (एकीकृत समाजवादी) लाई पनि दुइटा मन्त्रालयमै मनाउने प्रयास छ ।

संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, रास्वपा अहिल्यै सरकारमा जाने कि पार्टी सभापति रवि लामिछाने बैशाख १० को उपनिर्वाचनबाट जितेर आएपछि जाने भन्ने विषयमा अनिर्णित छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीलाई पनि एक/एक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार ०७:४८