सूचनाको शक्ति - The Power Of Information

        

‘गणपति’ को पोस्टर सार्वजनिक

आगामी जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’ को पोस्टर सार्वजनिक भएको छ ।

आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमुख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश भएका हुन् ।

साेही चलचित्रमा गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ । यस चलचित्रमा निर्देशनसँगै लेखन पनि सबिन अधिकारीको नै रहेको छ । निर्देशक अधिकारीले यो चलचित्रले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताएका छन् ।

चलचित्रमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु र सुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रमा अभिनेता भुषाल टाइटल क्यारेटरमा रहेका छन् ।

‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाइ छ । योचलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो ।

एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ। चलचित्रको गीतमा अनिश अधिकारीले शब्द तथा संगीत दिएका छन् । साथै अनिशसँगै देवेन्द्र बब्लुले आवाज दिएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १७:१७