सूचनाको शक्ति - The Power Of Information

        

किरणको कप्तानीमा राष्ट्रिय टिमको घोषणा

प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल सुरु हुन एकदिन बाँकी रहँदा नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ। किरण चेम्जोङको कप्तानीमा मंगलबार घोषणा गरिएको २३ सदस्यीय टोलीमा ७ जना नयाँ अनुहारलाई पनि समेटिएको छ।

प्रतियोगिताअघि प्रिम्याच कन्फ्रेन्समा लाओस र नेपाल दुबैले राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्न प्रयास गर्ने बताए। प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले पहिलो पटक राष्ट्रिय टिम सम्हाल्न लागेका छन्। यद्यपि, उनको श्रम स्विकृतीको प्रक्रिया टुंगिएको छैन।

नेपालसहित भुटान र लाओसबीच हुने प्रतियोगिताको विजेताले ५ हजार डलर प्राप्त गर्ने छ। प्रतियोगिताका लागि भुटान र लाओसको टिम काठमाडौँ आइसकेको छ। नेपालसहित तीनै टोली एभरेष्ट होटलमा रहेका छन्।

दशरथ रंगशालामा नेपाल र लाओसबीचको उद्घाटन खेल बुधबार साँझ ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। प्रतियोगिताको लाइभ नेपाल टेलिभिजनबाट गरिने छ।

पहिलो पटक राष्ट्रिय टिममा बोलाइएका खेलाडीमा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरी रहेका छन्।

नेपाली टिमः

गोलरक्षक– किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल
डिफेन्डर– रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, विकास खवास, सनिश श्रेष्ठ, निशान खड्का, पदम भट्टराई
मिडफिल्डर– मणि लामा, नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट, कमल थापा, आशिष चौधरी, आयुष घलान र सुमित श्रेष्ठ
फरवार्ड– दीपकराज सिंह ठकुरी, मनिष डाँगी, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १६:५५