सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार रातिदेखि खप्तड क्षेत्रमा हिमपात भएको हो । यो वर्ष खप्तडमा हिउँ परेको यो तेस्रो पटक हो ।
हिउँले राति र बिहानको समयमा खप्तड लगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । हिउँ करिब एक फिट जति परेको खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले खप्तड लगायतका क्षेत्रमा एक फिट हिउँ परेको बताउँदै हिमपातका कारण चिसो निकै बढेको बताए ।
हिमपातले खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो हुने खड्काले बताए । हिमपातका कारण यहाँको टेलिफोन सम्पर्क समेत विच्छेद भएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन गोपाल घिमिरेले बताए । उनले खप्तड घुम्न गएका पर्यटकहरु फर्किसकेको बताउँदै अहिले खप्तड क्षेत्रमा हिमपात जारी नै रहेको बताए ।
सत्यपाटी संवाददाता । सुदूरपश्चिम