सूचनाको शक्ति - The Power Of Information

        

वर्षाले फर्कायो किसानका खुसी, खङ्ग्रिएका डाँडा देखिन थाले हरिया

लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ । लामो समयको खडेरीपछिको वर्षाले वातावरण सफा हुनका साथै किसानलाई ठूलो राहत मिलेको छ ।

‘पाँच महिनापछि फागुनको अन्तिममा भएको हिउँदे वर्षाले केही पर्यावरण राम्रो भएको छ भने किसानलाई ठूलो राहत भएको छ,’ जल तथा मौसम विज्ञान विभागअन्तरगत जलवायु विश्लेषण शाखाका प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले भनिन्, ‘अहिले हिउँदे वर्षा सकिएर प्रि–मनसुन सुरु भइसकेको छ ।’

वर्षाका कारण सहरी क्षेत्रमा बढेको प्रदूषण न्यूनिकरणमा पनि ठूलो सहयोग पुगेको छ । चैतको पहिलो साता भएको वर्षाबाट खासगरी मकै, चैतेधान र हिमाली क्षेत्रमा आलु लगायत बालीनाली लगाउन लागि किसानलाई सहज भएको उनको भनाइ छ । ‘कात्तिकदेखि फागुनसम्म वर्षा नहँुदा सुक्खापन र खडेरी बढेको थियो । खडेरीपछिको वर्षाले किसान खुसी भएका छन् । वातावरण सफा भएको छ,’ वरिष्ठ मौसमविद् कँडेलले भनिन् ।

वातावरणविद् भुषण तुलाधरले वर्षाले वातावरणलाई स्वच्छ र सफा बनाएको बताए । ‘वर्षाले पर्यावरणमा सकारात्मक प्रभाव पार्छ, वातावरण सफा बनाउनुका साथै जलवायु परिवर्तनलाई कम गराउँछ,’ उनले भने, ‘साधारणतया यो सिजनमा प्रदूषण बढी हुन्छ । लामो समयदेखि वर्षा नभइरहेको अवस्थामा भएको वर्षाले वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्नुका साथै कृषि क्षेत्रलाई ठूलो राहत मिलेको छ ।’

मार्च, अप्रिल र मेमा हुने वर्षालाई प्रि–मनसुन मानिन्छ । यो सिजनमा बिहान र दिउँसो मौसम सामान्यतया सफा रहेपनि अपरान्ह्पछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

‘वर्षाले वातावरण सफा भएको छ, प्रदूषण कम हुनका साथै किसानलाई पनि राहत भएको देखिन्छ । हिमाली भू–भागमा हिमपात भइरहेकाले पनि मौसम सफाल भएको छ,’ उनले भने । यो सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आउने सिजन पनि हो । यही समय सर्वाधिक सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आरोहणमा जाने गर्छन् ।

पछिल्ला दिनमा भइरहेको वर्षाका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । हिमपातका कारण कालापत्थर जस्तै देखिन थालेका हिमाल सेताम्मे भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका वर्षाका कारण पूर्वदेखि पश्चिमसम्मको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको छ । गएराति भएको वर्षासँगै ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा आज पनि सामान्य हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए । उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । हिउँ परेसँगै यहाँ पर्यटकको सङ्ख्या पनि बढेको छ ।

यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मा लगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयको भनाइ छ । अनुकूल मौसमले देशका पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता मिलेको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा हिमाल आरोहणका लागि यतिखेर विभिन्न मुलुकका आरोहीले धमाधम आरोहण अनुमति लिइरहेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १५:५३