राजनीतिमा चामत्कारिक उदयपछि रवि लामिछानेको जिन्दगीमा अनेक आइलागेको छ । कहिले सत्ताको बाइपङ्खी घोडामा त कहिले अपमानको रछानमा । यस्तैयस्तै हुँदै आएको छ । आँशुहरूको आहालमा डुबुल्की मार्दै लोकरिझ्याँइमा रम्दा देवता बने । आडम्बरको चुलीबाट नियम कानुन लात मार्दा अनागरिक ठहरिए । अपमानित भए ।
राजनीतिक नेतृत्वलाई सराप्दै, अधिकारीहरूलाई हप्कीदप्की गर्दै पत्रकारितामा रमे । केही अन्यायमा परेकाहरूलाई न्याय दिलाउन पहल गरे । गर्दागर्दै राजनीतिमा होमिए । र, चामत्कारिक सफलता पाए । राजनीतिमा आएपछि रविले नसोचेका धेरै कुरा भए । राजनीतिक दलको रूपमा पाएको मत अपेक्षाभन्दा धेरै ठूलो । जनमतको बलमा उपप्रधानमन्त्री र गृहमन्त्री अकाल्पनिक । सायदै, उनैलाई पनि ‘क्षणमै उपप्रधानमन्त्री बन्छु’ भन्ने लागेको थिएन ।
अन्जानमै उपप्रधानमन्त्री तथा गृहमन्त्रीको रूपमा रविको उडान बाइपङ्खी घोडाबाट सुरु भयो । वर्षौ राजनीति गरेका शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र केपी ओलीहरूसँग कुममा कुम मिलाए । शिखर चुम्नु जति जटिल हुन्छ त्योभन्दा धेरै शिखरमा टिक्न मुस्किल हुन्छ । रविलाई त्यस्तै भयो । अन्जानमै शिखर पुगे तर क्षणभरमै फेदी झरे । रविलाई थाहा थियो, एक न एक दिन कानुनको फन्दामा परिन्छ । तर, मिडियाको बलमा कानुन हातमा लिएर राज गरिरहेका रविलाई मतलवै भएन । त्यसैले त एक सटमा सबथोक गुम्यो ।
रवि आफैले कुनै दिन मिडियाबाट बोलेका थिए, ‘एक दिन मलाई अनागरिक बनाउने छन् ।’ यत्ति कुरा बुझेर पनि उनले नागरिकता पुनः प्राप्तिका लागि एक कदम पनि पाइला सारेनन् । त्यसैको परिणाम थियो, सर्वोच्चको एक निर्णयमा रविको सर्वस्व गुम्नु । नेपालीमा एउटा उखान छ– कोनि के गरिसकेपछि दैलो देख्नु । त्यस्तै भयो रविको हकमा । सबथोक गुमेपछि पुनः नागरिकता लिए । कानुन मानेर नागरिकता लिनु राम्रो हो । त्यसले रविकै भलो भयो ।
नागरिकता लिएपछि पार्टीको सभापति पद त फिर्ता आयो । तर, संसद र उपप्रधान तथा गृहमन्त्री फिर्ता आउने कुरै भएन । एकबार होइन बारबार बूढा नेताहरूलाई ढोगिरहे तर त्यो बाइपङ्खी घोडाको रजगज फिर्ता आउँदै आएन । क्षणमा गुमेको सत्ता फिर्ता गर्न अनेक कोसिस गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रकार सम्मेलनबाटै रजगज फिर्ता गरिदिन आग्रह गरे । तर, सत्ता फिर्ता ल्याउन त्यति सजिलो कहाँ हुन्छ र ?
सत्ता फिर्ता नभएपछि पार्टीका साथीहरूले नमान्दा नमान्दै सरकारबाट बाहिरिने निर्णय गरे । सरकारबाट बाहिरिने क्रममा उपप्रधान तथा गृहमन्त्री फिर्ता नदिने प्रधानमन्त्री प्रचण्डलाई सत्तोसराप गर्छन् भन्ने लागेको थियो । उल्टो पो भयो, बेकारमा पत्रकारहरूलाई गाली गरेर प्रचण्डको गुणगान गाए । सरकारबाट बाहिरिएपछि सरकारलाई दिएको समर्थन फिर्ता लेलान् भन्ने लोक बुझाइ थियो । राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध मतदान गर्लान् भन्ने बुझाइ थियो । र, प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनन् भन्ने अनुमान थियो । तर, कहाँ त्यसो गर्न सक्नु ?
लुरुलुरु प्रचण्डकै आदेश मानेर आज्ञाकारी बन्न पुगे । यहाँसम्म आइपुग्दा सत्ताको स्वाद रविलाई जति मिठो अरू कसलाई पो लागेको होला र ? र त, आँखा चिम्लेर सरकारवादी कदमहरूमा सारथी बनेका छन् । सत्ताको आडमा रजगज गर्ने रविको नीति गज्जब । खारेज भइसकेको नागरिकता प्रयोग गर्दा रवि कसुरदार ठहरिए । सोही नागरिकता प्रयोग गरेर राहदानी बनाएका उनी कसुरदार नबन्ने कुरै हुँदैन । तर, सत्ताको फेरो समातेर बैतरणी तरेका छन् । सामान्य नागरिकबाट रविकै जस्तो कसुर भए जेलको हावा खाँदै बस्नुको विकल्प हुन्नथ्यो । तर, सामान्य नसियतमै रविले उम्नुक्ति पाए ।
राहदानी मुद्दामा जेल पानुपथ्र्यो । तर, सत्ताधारी दललाई जनअभिमत बेचेरै उन्मुक्ति लिए । काँचको पर्दाबाट शक्ति दुरूपयोगबारे रविले सयौंपकट बोलेका थिए । प्रचण्ड, देउवा र ओलीहरूलाई भन्न केही बाँकी राखेका थिएनन् । तर आज, उनै प्रचण्ड, देउवा र ओलीहरूको शरणमा परेका छन् । तिनिहरू जस्तै सत्ता र शक्तिको दुरूपयोग गरेर आफूलाई सुनपानी छर्केका छन् । अब, रविलाई जसरी पनि पुनः सत्ताको बाइपङ्खी घोडा चढ्नु छ । त्यसका लागि पुनः निर्वाचन जित्नु छ । निर्वाचन जित्न सत्तापक्षकै सहारा लिनु छ ।
त्यसैले, सत्ताधारीसँग लिसो झै टाँसिनु नै छ । र, लोकरिझ्याँइमा स्थापित लोकप्रियता खपत गर्नु छ । राजनीतिबाट कायापलट गर्न रविले राजनीति रोजे । तर, रवि आफै कायापलट भए । आज रविसँग तिखा प्रश्नहरू छैनन् । लोकरिझ्याँका मन्त्रहरू पनि सकिए । अब, रविको आँखामा देशका दुस्मनहरू छैनन्, भ्रष्टाचारी र नराम्रा कोही छैनन् । आज, सत्ता नै रविको सपना र विपना बनेको छ । जीवन र दर्शन बनेको छ । अर्थात, रविका लागि सत्ता बाहेक अरू केही छैन । बैगुनी सत्ता, सपनामै रविलाई सप्को मारेर गयो ! रविलाई प्रतीक्षा सोही सत्ताको छ ।
मिलन लिम्बू । काठमाडौं