सूचनाको शक्ति - The Power Of Information

        

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

त्रिविका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले आउँदो १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्योभन्दा अगाडि नै चुनाव गर्न निर्देशन दिनुभएको हो । उहाँले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

उहाँले केही क्याम्पसमा विद्यार्थी सङ्गठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि धेरैजसो क्याम्पसमा शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भएको बताउनुभयो । १४ वर्षपछि हिजो त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त धेरैजसो क्याम्पसमा चुनाव भएको थियो ।

६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा चुनाव रोकिएको छ । काठमाण्डौ उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्श क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध  छ ।

यस्तै सबभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।

हिजो चुनाव भएका कतिपय क्याम्पसमा अन्तिम परिणाम आइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १०:५८