सूचनाको शक्ति - The Power Of Information

        

स्ववियु निर्वाचन:

बाँकेका दुई क्याम्पसमा अनेरास्ववियु, एक-एकमा नेविसंघ र अखिल विजयी

महेन्द्रमा चैत्र ८ गते चुनाव

 स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले दुई वटा क्याम्पसमा प्यानलसहित जित्दा कांग्रेसनिकट नेविसंघ र माओवादीसम्बद्ध अखिल क्रान्तिकारी एक/एक क्याम्पसमा विजयी भएका छन्।

बाँकेको चार वटा क्याम्पसको नतिजा आउदा अनेरास्ववियुले बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर र ज्ञानोदय बहुमुखी क्याम्पस, खजुरामा प्यानलसहित जितेको छ। बागेश्वरीमा देवेन्द्रबहादुर बुढा र ज्ञानोदयमा विनयकुमार यादवको प्यानल नै विजयी भएको हो।

नेपालगञ्जको नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारी, नेविसंघको गठबन्धनबाट क्रान्तिकारीकी दिपिका सोनी सभापतिमा विजयी भएकी छन्। सचिवमा अनेरास्ववियुकी देवार्चना अधिकारी विजयी भएकी छन्।

राप्तीसोनारीको फत्तेपुरमा रहेको जनसिद्देश्वरी बहुमुखी क्याम्पसमा नेविसंघकी निरा थारु विजयी भएकी छन्। यहाँ नेविसंघले अन्यसँग गठबन्धन गरेर संयुक्त प्यानल बनाएको थियो।

यस क्षेत्रकै ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा चैत्र ८ गते चुनाव हुने मिति तय गरिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ०८:५३