अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा करिब २५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन् । छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले यो कलाकृति बनाइएको हो ।
अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्वीर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहेका छन् । यसको उद्देश्य अष्ट्रेलियाका मानिसहरूलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु हो ।
विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार अष्ट्रेलिया छालाको क्यान्सरको सन्दर्भमा विश्वमा सबैभन्दा बढी प्रभावित देश हो । स्थानीय समय अनुसार बिहान ३।३० बजे स्वयंसेवकहरू समुद्र तटमा भेला भए र नग्न पोज दिए ।
कार्यक्रममा भाग लिने ७७ वर्षीय ब्रुस फिशरले एएफपीलाई भने, ‘मलाई लाग्छ यो राम्रो विचार हो । मलाई जे भए पनि बोन्डी बीचमा स्ट्रिप गर्न मन पर्छ ।’ फोटोग्राफर ट्युनिक विश्वभरका चर्चित स्थानहरूमा कलात्मक नग्न फोटो खिच्नका लागि प्रसिद्ध छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं