सूचनाको शक्ति - The Power Of Information

        

तस्वीर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्वीर खिच्ने बेला भीरमा खसेकी थिइन् ।

पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्वीर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ०७:०५