थोरै जनसंख्या भएको एउटा सानो गाउँ । प्राकृतिक सुन्दरताले भरिपूर्ण अनि विकास निर्माणमा अगाडि बढिरहेको ठाउँ । आ–आफ्नो काममा व्यस्त मानिस । गाउँमा ३५ जना मात्रै महिला । तर, सबै गर्भवती । उनीहरूको जीवन खतरामा छ । किनकि त्यहाँ सञ्चालित अस्पतालले प्रसूति वार्ड बन्द गरेको छ ।
गाउँ छ, मानिस छन्, महिला छन्, प्रसूति केन्द्र छ, तर स्त्रीरोग विशेषज्ञ डाक्टर वा तालिमप्राप्त नर्सचाहिँ छैनन् । यो कथा नेपालको कुनै दुर्गम गाउँको होइन । विश्वको सबैभन्दा विकसित देश संयुक्त राज्य अमेरिकास्थित वासिङ्टन राज्यको याकामा इण्डियाना रिजर्वको हो । यस क्षेत्रको प्रसूति वार्ड बन्द हुनु अमेरिकामा कुनै अनौठो घटना होइन ।
किनभने अमेरिकी सरकारले सन् २०१५–२०१९ को बीचमा त्यहाँको ग्रामीण क्षेत्रमा सञ्चालित अस्पतालहरूको ८९ प्रसूति इकाई बन्द गरेको थियो । तर सन् २०२० सम्म आइपुग्दा ग्रामीण क्षेत्रका झण्डै आधा अस्पतालले प्रसूति वार्ड बन्द गरेकाले पनि त्यहाँका महिलाले गर्भवती अवस्थामा खतराको जीवन बाँचिरहेका छन् ।
नेपालका गाउँमा अस्पताल, डाक्टर तथा प्रसूति वार्ड र तालिमप्राप्त कर्मचारी अभाव देखिन्छ नै । तर विकसित देश अमेरिका पनि गर्भवती महिलाका लागि खतरनाक मानिन्छ । कारण हो, निरन्तर बढ्दै गएको मातृ मृत्युदर । अमेरिकामा प्रति एक लाख महिला सुत्केरी हुँदा २३.८ प्रतिशत अर्थात् हरेक ५ हजार सुत्केरीमध्ये एक जनाको मृत्यु हुने गरेको छ ।
पछिल्लो तथ्यांकअनुसार अल्पसंख्यक मूल समुदायमा यो जोखिम अझ बढी छ । एक अध्ययनका अनुसार गोराको तुलनामा अमेरिकी मूल निवासी महिलाको बच्चा जन्माउने क्रममा मृत्यु हुने सम्भावना तीन गुणा बढी छ । र, उनीहरूको बच्चा जन्मेको एक वर्षभित्र मर्ने सम्भावना गोरा बालबालिकाको तुलनामा दोब्बर छ ।
मातृ स्वास्थ्य अन्तर्गत काम गर्ने एनजीओ मार्च फर डाइम्सका अनुसार अमेरिकामा बच्चा जन्माउने उमेरका ७० लाख महिला छन् । उनीहरूको घरनजिकै प्रसूति केन्द्र छैन, न स्त्री रोग विशेषज्ञ, न तालिम प्राप्त नर्स । अस्पतालहरूले बिना पूर्वसूचना प्रसूति इकाई बन्द गर्दा स्थानीयवासी आक्रोशित र चिन्तित छन् ।
प्रसूति इकाई बन्द गर्नुअघि एस्ट्रा टोपेनिस अस्पतालले न स्थानीय जनतासँग कुरा गर्यो, न त त्यहाँ कार्यरत चिकित्सकलाई बतायो, न बोर्डलाई यसबारे जानकारी दियो । राष्ट्रमण्डल कोषको एक अध्ययनअनुसार ग्रामीण क्षेत्रमा बस्ने महिलालाई गर्भावस्थासँग सम्बन्धित जटिलता हुने सम्भावना बढी हुन्छ ।
टोपेनिसका महिलाका अनुसार एक प्रसूति इकाई हुँदा धेरैको ज्यान बचेको थियो तर अहिले बन्द हुँदा हरेक महिला जोखिममा छन् । ३५ वर्षीया एड्रियाना गुएल तीन सन्तानकी आमा हुन् । उनलाई अन्तिम प्रसवको क्रममा एम्नियोटिक एम्बोलिज्म भनिने दुर्लभ र प्राणघातक रोग लागेको थियो । गाउँमा भएका विशेषज्ञ चिकित्सकले गर्दा मात्रै ज्यान जोगियो ।
यस्तै, टोपेनिसकी मेयर एल्पिडिया सावेद्रा ४७ वर्षकी भइन् । उनी आफैं सम्झन्छिन् कि गर्भावस्थामा कसरी उनको जीवन खतरामा थियो । युनिभर्सिटी अफ मिनेसोटा रुरल हेल्थ रिसर्च सेन्टरकी निर्देशक डा. केटी कोझिमानिल ग्रामीण क्षेत्रमा प्रसूति इकाई सञ्चालन गर्नु निकै महँगो भएको बताउँछिन् ।
प्रसूति इकाई चलाएमा २४ घण्टा कर्मचारी राख्नुपर्ने उनको भनाई छ । प्रसूति इकाईहरूमा दक्ष विशेषज्ञ तथा नर्स अभावका कारण यो खर्च झनै बढेको बताउँछिन् । ‘अस्पतालहरूले करारमा नर्स राख्न बाध्य छन् र तिनीहरूको शुल्क धेरै छ । प्रशिक्षित श्रम र डेलिभरी नर्सहरूको माग ठूलो माग छ, तर तिनीहरूको संख्या थोरै मात्रामा छ । यस्तो अवस्थामा खर्च निकै बढ्छ,’ उनले भनिन् ।
अमेरिकाका धेरै भागमा अल्पसंख्यक समुदायको अवस्था पनि त्यस्तै छ । यी समुदायका लागि सञ्चालित अस्पतालहरूलाई आर्थिक सहयोग गर्न सरकारका धेरै योजना छन् । यस्तो अवस्थामा अमेरिकाजस्तो विकसित देशमा पनि ठूलो जनसंख्याका अगाडि स्वास्थ्य सेवामा संकट खडा भएको छ । अमेरिकामा यस्ता धेरै अस्पताल छन्, जसले कुनै न कुनै प्राविधिक वा अन्य कारणले यी योजनाको फाइदा लिन सक्दैनन् ।
एस्ट्राटोपेनिस अस्पतालका प्रशासक क्याथी बम्ब्रिकका अनुसार अस्पतालले लगातार घाटा व्यहोर्दै गएको छ । गतवर्ष शिशु सुरक्षा प्रणाली बिग्रियो । तर यसलाई स्थापना गर्न अस्पतालसँग पैसा थिएन । अल्ट्रासाउण्ड मेसिनले एक्कासी काम गर्न छोड्यो । नयाँ मेसिनको लागि बजेट थिएन, त्यसैले सेकेन्ड ह्याण्ड मेसिन ५० हजार डलरमा किनिएको थियो । टोपेनिसका बासिन्दा प्रसूति इकाई बन्द हुनु सुरुवात मात्र भएको बताउँछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं