सूचनाको शक्ति - The Power Of Information

        

पोर्न स्टारलाई संस्कृति मन्त्रीले बधाई दिएपछि हंगामा !

गत बुधबार हङकङका संस्कृति, खेलकुद तथा पर्यटनमन्त्री केभिन युङको नामबाट निस्केको एउटा विज्ञप्तीले सानोतिनो तहल्का नै मच्चायो । किनभने त्यो विज्ञप्तीमा एक पोर्न स्टारलाई बधाई दिइएको थियो ।

हङकङमा जन्मेर जापानी एडल्ट फिल्म उद्योगमा चर्चा कमाएकी एरेना सोलाई बधाई दिँदै सो विज्ञप्ती निकालिएको थियो । विज्ञप्ती एक अनलाइन फोरममा भाइरल भएपछि मन्त्रीले प्रहरीकहाँ उजुरी दिएका छन् ।

संस्कृति, खेलकुद तथा पर्यटन ब्युरोका एक प्रवक्ताले विज्ञप्ती नक्कली भएको स्पष्टीकरण दिएका छन् । उनले यसबारे उजुरी दिइएको पनि बताए । सो नक्कली विज्ञप्ती देखेर थुप्रै मानिस झुक्किएका थिए ।

किनभने सो विज्ञप्ती मन्त्री युङले केही दिनअघि ओस्कर जितेकी अभिनेत्री मिसेल योहलाई बधाई दिँदै निकालेको विज्ञप्तिको भाषासँग मिल्दोजुल्दो थियो । मलेसियामा जन्मेकी मिसेल योह १९८० र ९० को दशकमा हङकङमा स्टार बनेकी थिइन् ।

पछि सो नक्कली विज्ञप्तीको लिंक हटाइएको छ । यससम्बन्धमा उजुरी परेको र छानबिन भइरहेको प्रहरीको भनाइ छ । इन्स्टाग्राममा १ लाख ३२ हजार फलोअर्स भएकी पोर्नस्टार सो पछिल्लो समय जापानमा चर्चित हुँदै गएकी छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १८:४०