सूचनाको शक्ति - The Power Of Information

        

रकम विदेशिने क्रम बढ्यो

चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रुपैयाँ रकम विदेशिएको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४ रुपैयाँ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो ।

विभागले आठ महिनामा रोयल्टीवापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १ सय ७ रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय रुपैयाँ तथा ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ ।

विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ । विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो ।

रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७ रुपैयाँ, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार ५५सय २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ । शाखाका प्रमुख शंकरसिंह धामीका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ ।

चालु आर्थिक वर्षको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, १ सय ५० जना प्रतिनिधि र ३ सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १ सय २३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १ सय ९६ रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १५:२६