सूचनाको शक्ति - The Power Of Information

        

युद्ध अपराधको आरोपमा रुसी राष्ट्रपतिविरुद्ध आइसिसीको पक्राउ पूर्जी

हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध वारेन्ट जारी गरेको छ । युक्रेनविरुद्ध युद्ध अपराध गरेको आरोपमा उक्त वारेन्ट जारी भएको हो ।

पुटिनसँगै बाल अधिकारसम्बन्धी एक आयुक्त मारिया अलेक्सेइभनाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बालबालिकालाई गैरकानुनी रुपमा देश निकाला गरेको आरोपमा वारेन्ट जारी भएको हो ।

गैरकानुनी रुपमा मानिसहरुको स्थानान्तरणको आरोप पनि पुटिनमाथि लगाइएको छ । युक्रेनमा भएको युद्ध अपराधमा उनी जिम्मेवार रहेको आरोप लगाइँदै आइएको छ । तर रुसले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

रसियाले युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि दुई देशबुच युद्ध सुरु भएको थियो । युद्ध भएको ३८७ बितिसक्दा पनि शान्ति वार्ता हुन सकेको छैन । अमेरिकी र युरोपेली राष्ट्रहरूको समर्थनमा युक्रेन युद्धमै छ ।

यता रसिया भने युक्रेनमा आफ्नो पकड कायम राख्न लागि रहेको छ । रसियाले युक्रेनको केही स्थानमा आक्रमणलाई तीव्रता दिइरहेको बेला वारेन्ट जारी भएको हो । रुसले भने आदेशलाई अर्थहीन भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार ०६:३१