सूचनाको शक्ति - The Power Of Information

        

दुई न्यारोबडी र दुई एटीआर थप्दै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले जहाज थप्न अध्ययन थालेको छ । निगमले उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा गठन गरिएको समितिले अध्ययन सुरु गरेको हो ।

‘अध्ययन कमिटीले अन्तर्राष्ट्रियतर्फ दुईवटा एयरबसको न्यारोबडी र आन्तरिकतर्फ स्टलका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गरिरहेको छ,’ निगमका एक कर्मचारीले भने ।

सञ्चालक समितिको निर्देशन अनुसार गरिएको यो अधययन पुनः संचालक समितिमा पेश गरिन्छ । त्यसपछि पर्यटन मन्त्रालयबाट प्रक्रिया सुरु हुनेछ । अन्तर्राष्ट्रिय उडानका लागि थप दुईवटा न्यारोबडी जहाज ल्याएपछि मलेसिया, दिल्ली, दुवई, दोहा, बैंग्लोर लगायत विभिन्न गन्तब्यमा निगमले उडान संख्या विस्तार गर्ने उनले जानकारी दिए ।

उनका अनुसार हाल यी गन्तब्यमा साताको पाँच–पाँचवटा उडान हुँदै आएको छ । निगमले ड्राइ लिजमा जहाज ल्याउने गरि प्रकिया अगाडि बढाइनेछ । स्टल रुटका लागि तीनवटा ट्विनअटर जहाज खरीद गर्ने योजना बनाएको निगमले सुगम गन्तब्यका लागि दुईवटा एटीआर–७२ सिरिजको जहाज ल्याउने योजना बनाएको छ ।

आइतबारदेखि पाँचवटा चिनियाँ जहाजको मूल्यांकन

तीन वर्ष यता ग्राउण्डेड चिनियाँ जहाज विक्रीका लागि निगमले आइतबारबाट मूल्यांकन सुरु गर्ने योजना रहेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । यसका लागि निगमले अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका प्रतिनिधि आइतबार काठमाडौं आउने उनले बताइन् ।

कम्पनीका प्रतिनिधिले एक महिनाभित्रै जहाजको मूल्यांकन पेश गर्ने उनले जानकारी दिइन् । ‘हामीले सर्टलिस्ट गरेर एभियनलाई यो जिम्मा दिएका हौं । यो कम्पनीका प्रतिनिधि आइतबारै आएर काम सुरु गर्ने तालिका रहेको छ,’ उनले भनिन्, ‘मूल्यांकनसँगै हामी विक्री प्रक्रिया अगाडि बढाउनेछौँ ।’

हाल निगमले दुईवटा एयरबस–३२० र दुईवटा एयरबस–३३० सिरिज गरी कुल चारवटा जहाजमार्फत दिल्ली, मुम्वई, बैंग्लोर, थाइल्याण्ड, हङकङ, जापान, साउदी अरेविया, दुवई, कतार, मलेसिया लगायत विभिन्न गन्तब्यमा नियमित उडान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १८:१६