सूचनाको शक्ति - The Power Of Information

        

गाई पालेर गाउँमै बस्छिन् नवनिर्वाचित उपराष्ट्रपति रामसहायकी श्रीमती चम्पादेवी

सत्तारुढ दलबाट उम्मेदवार रहेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका नेता रहेका यादवले बारा २ मा माओवादीका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

त्यसपछि जसपा संसदीय दलको नेता बनेका यादवलाई पार्टी अध्यक्ष उपेन्द्र यादवको ’फोर्स’मा उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । सत्तारुढ दलमा माओवादीले यादवलाई रोक्न खोजे पनि अन्ततः उनको जित भएको छ ।

रामसहायलाई रोक्न खोजेपछि जसपाले प्रमिला यादवलाई समेत उम्मेदवारी दिन लगाइन् । महिलालाई उपराष्ट्रपति दिनुपर्ने आवाज उठेपछि सत्तारुढ दलबाट जनमत पार्टीका ममता झाकोसमेत उम्मेदवारी पर्यो ।

को हुन् रामसहाय ?

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको पाँच दलीय गठबन्धनको सरकारमा वनमन्त्री बनेका रामसहायले पार्टीको महासचिवसम्मको पद सम्हालेका छन् । नेपाल सद्भावना पार्टीबाट राजनीति थालेका उनी शिक्षक थिए ।

उपेन्द्र यादवसँगको भेटपछि जनअधिकार फोरममा आवद्ध भएका उनी मधेश आन्दोलनमा पटक पटक गिरफ्तारीमा परे । पहिलो संविधानसभामा समानुपातिक सांसद बनेपछि उनी काठमाडौं आए । श्रीमान् सांसद बनेर काठमाडौं आउँदा श्रीमती चम्पादेवीलाई काठमाडौं रुचेन ।

आफू मन्त्री हुँदासमेत श्रीमती काठमाडौं नआएको रामसहायको भनाई छ । ‘श्रीमती गाई पाल्छिन् गाउँमै । यता बस्नै मान्दिनन्,’ यादवले भने । साथीभाइले भन्दा पनि काठमाडौंमा केही समय बसेर गाउँ फर्किएको उनले सुनाए ।

‘साथीभाइले मजाक गरेर यतै बस्न भनेका थिए । तर यता केहीदिन बसेर फर्किन्,’ रामसहायले भने । रामसहायको बाराको कलैयास्थित गोरुबजारमा गाई गोठ रहेको छ । यही गोठमा गाई स्याहर्दै श्रीमतीको दिन बित्ने उनको भनाई छ ।

‘काठमाडौंको खर्च टार्न जग्गा बेचें’

बारा कचोर्वामा पुर्ख्यौली जमिन बेचेर कलैयाको गोरुबजारमा १२ धुर जमिन किनेका उनले सांसद भएको समयमा एक कठ्ठा जमिन बेच्नुपर्यो । काठमाडौंको खर्च धान्न आफूले जग्गा बेच्नुपरेको उनको भनाई रह्यो । ‘संविधानसभा सदस्य छँदै अलि क्षमताभन्दा बढी आँटेर पाँच लाखमा एक कठ्ठा जग्गा लिएको राजाको, उधारोमा ।

२०६४ को सांसदको कार्यकाल सकिएपछि भाडा तिर्नुपर्यो । पढाइ सकाउनुपर्यो । त्यसको लागि त्यो एक कठ्ठा जग्गा बेच्नुपर्यो । नबेचेको भए काठमाडौं बस्न सकिँदैनथ्यो,’ रामसहायले भने । दुई छोरा र एक छोरीका बुवा यादवले बीएड र बीएस्सीसम्मको अध्ययन गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १७:५८