सूचनाको शक्ति - The Power Of Information

        

स्याउका बिरुवामा किरा लागेपछि जुम्लाका किसान चिन्तित

स्याउका बिरुवामा किरा लाग्दा किसान चिन्तित बनेका छन् । मुख्य आम्दानीको स्रोत नै स्याउ भएकाले किसान उत्पादन कम हुने चिन्तामा परेका हुन् ।

तिला गाउँपालिका–२ दलबहादुर रावतले रोग किराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको जानकारी दिए । ‘स्याउ बगैँचामा बिरुवा रोप्न जति सजिलो छ,’ उनले भने, ‘त्यसभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ ।’

बगैँचामा गत वर्ष भुवादार लाइकीरा र कत्ले किराको प्रकोप देखिएको थियो । तर समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको उनले बताए । ‘वर्षैपिच्छे कुनै न कुनै रोग किराको सङ्क्रमण भइरहेको हुन्छ,’ उनले भने, ‘त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ ।’

जिल्लाका अधिकांश स्याउ बगैँंचाका बोटमा सो समस्या देखापरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । जुम्ली स्याउमा बर्सेनि रोग किराको सङ्क्रमण देखिँदा उत्पादनमा ह्रास आएको तातोपानी गाउँपालिकाका पूर्णप्रसाद चौलागााईँले जानकारी दिए ।

बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्टरूपमा छुट्याउनुपर्ने जनाएको छ । जिल्लाभरि चार हजार २५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारीले हरेक वर्ष रोग किराका कारण करिब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:३७