आम निर्वाचनपछि उपप्रधान तथा गृहमन्त्रालय लिएर सात दलीय गठबन्धनको पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा सहभागी भई डेढ महिना नपुग्दै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गुमनाम बनेको छ ।
पार्टी दर्ताको पाँच महिनामै संसद्को चौथो दलका रूपमा उदाएको रास्वपा सरकार छाडेसँगै गुमनाम बनेको हो ।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा दल दर्ता गराएसँगै सामाजिक सञ्जाल र मिडियामार्फत आफ्ना एजेन्डालाई आक्रमक रूपमा जनतामाझ पुर्याई जनताका केही अपेक्षा पूरा गर्ने सपना बोकेर संसद् छिरेको उक्त दल सरकारमा सहभागी हुँदासम्म चर्चामै थियो ।
तर, केही समययता गुमनाम भएको भन्दै उक्त दलको राजनीतिक गतिविधिलाई नजिकबाट नियालिरहेका शुभेच्छुक तथा सहयोगीहरू नै अहिले रास्वपा के गरेर बसिरहेको छ ? भन्ने प्रश्न गर्न थालेका छन् ।
उक्त दल दर्ता भएको पाँच महिनामै निर्वाचन भएको र सो निर्वाचनबाट प्रतिनिधि सभामा २० सिट हासिल गरी चौथो दलका रूपमा स्थापित भएको थियो ।
तर, सात दलीय गठबन्धनको सरकारमा सहभागी भएको करिब डेढ महिनामै सरकार छाड्नुपरेसँगै उसका राजानीतिक गतिविधिहरू शून्य प्रायः देखिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ