सूचनाको शक्ति - The Power Of Information

        

भोजपुरमा बाँदरले घरपालुवा चौपायामाथि करणी गर्न थालेपछि…

माओवादी भोजपुर समन्वय समितिले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बाँदर आतंकका कारण उर्वर जमिनसमेत बाँझो छाड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु पलायन हुने क्रम बढेको माओवादीको भनाइ छ ।

आमकिसानको समस्यालाई मध्यजनर गर्दै तत्काल बाँदर नियन्त्रण गर्नुपर्ने उनीहरुको माग छ । ‘बाँदर आतंकको कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु पलायन हुने संख्या दिनानुदिन बढिरहेको छ ।

तसर्थ राज्यले गम्भिरतापूर्वक विकराल समस्या समाधान गर्ने उपायको खोजी गरी किसानलाई प्रोत्साहन नगर्ने हो भने कुनै पनि गाउँ मानवबस्ती विहीन हुने कुरा निश्चित छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

समितिले सरकारको तर्फबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसान बाँदर नियन्त्रणको निम्ति जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुनेसमेत चेतावनी दिएको छ । बाँदरको उपद्रवका कारण पौवाढुङ्गा गाउँपालिकाको बास्तिम र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ लगायत जिल्लाका केही गाउँका बासिन्दा अन्यत्र हिँड्नुपरेको छ ।

बाँदर नियन्त्रणका लागि केही स्थानीय तहले बजेट समेत छुट्याउँदै आएका छन् । तर, बाँदरले बाली नपाएपछि घरभित्र पसेर पाकेको भातको भाँडो बोक्ने, घरपालुवा चौपायामाथि करणी गर्ने, बृद्ध, अशक्त एवम् बालबालिकालाई भौतिक आक्रमण गरेपछि समितिले यसप्रति प्रधानमन्त्री, गृहमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गरिएको जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १७:५०