‘हामी पनि हिन्दु हौं भने प्रवेश गर्न दिनुपर्यो, छुवाछुतको कुरा हटाउनुपर्यो, संविधानमा पूजा गर्ने अधिकार दिएको छ भने दिनुपर्यो, छैन भने छैन भन्नपर्यो, हाम्रो माग यतिमात्र हो ।’ वीरगञ्ज महानगरपालिका–१७ अलौको उमाशंकर रामको भनाइ हो यो । गाउँमै हुन लागेको महायज्ञमा आफूहरू भाग लिन नदिने भएपछि उमाशंकरले भने, ‘सबैले हामीलाई हिन्दु भन्ने तर सँगै पूजा गर्न नदिने, हामी कस्तो हिन्दु हो ?’
सोमबारदेखि मुलुककै एतिहासिक गाँउ अलौंमा झण्डै दुई दशकपछि हुन लागेको शतचण्डी महायज्ञमा सहभागी हुन नदिने भएपछि दलितहरू आन्दोलित छन् । उनीहरूको आन्दोलनको मुख्य माग हिन्दु धर्मका अरु जातजातिसरह आफूहरूले पूजा गर्न पाउनुपर्छ । गाउँमा हुन गइरुहेको सप्तचन्डी महायज्ञको मुल आयोजन समितिमा राख्नुका साथै पूजाको वेदिमा दलितहरूलाई पनि बसेर पूजा गर्न पाउनुपर्ने माग राख्दै दलितहरू जिल्लाको सदरमुकाम वीरगञ्जमा छुवाछुत र भेदभावको बिरोधमा नाराबाजी समेत गरेका छन् ।
गाउँको बिहेबारी, कथामटकोरमा तासा (एक प्रकारको बाजा) बजाउँदै आएका रामहरूले सोमबारदेखि सबै सामुदायिक कामहरूसमेत बहिष्कार गर्दै आन्दोलन अगाडी बढाएका छन् । बहिष्कार आन्दोलनसँगै गाउँमा हुने कथित ‘उपल्लो’ जातको बिहेबारी कथामटकोरमा अहिले तासाको साटो टिन बजाएर काम चलाउन बाध्य भएका छन् । अलौमा १०३ घर चमार र दुसाद जातीका दलितहरू रहेका छन् । यी दुबै समुदायका दलितहरूलाई महायज्ञ मुल आयोजक समितिले छुवाछुतको विभेद गर्दै महायज्ञमा पूजाबाट रोक लगाएको छ ।
पूजामा प्रवेश निषेध गरिपछि उनीहरूको आन्दोलन क्रमिक रुपमा अगाडी बढ्दै गएको छ । वीरगञ्जमा गरिएको प्रदर्शनमा सहभागीहरूले ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद गर्न पाइँदैन, हिन्दूको शोषण हिन्दूले नै गर्न पाइँदैन, हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार गर्नेलाई कारबाही गर’ जस्ता नारा नाराबाजी पनि गरेका थिए । गाउँमा चैत ८ गतेदेखि शप्तचण्डी महायज्ञको आयोजन हुँदैछ । तर विगतजस्तै यसपटक पनि आयोजन समितिले जातिय भेदभाव कायम राखेको छ । पूजामा सहभागी हुन बन्देज लगाइएको छ ।
पूजामा पनि प्रवेश गर्न रोक लगाइएपछि आफुहरू आन्दोलित भएको स्थानीय दलितहरूको भनाइ छ । महायज्ञमा प्रवेशसँगै साथै पूजापाठ गर्नका लागि एक महिनादेखि दलितहरू गाउँ समुदायमा आवाज उठाउँदै आएका थिए । तर गाउँका हिन्दु अगुवाहरू सकारात्मक नभएपछि सोमबारदेखि सडकमै ओर्लिनुपर्ने बाध्यता सिर्जना भएको दलित नेता खुबलाल महराले जानकारी दिए । महायज्ञ आयोजनाको तिथि तोकिएसँगै पूजाको रितिरिवाज अनुसार पूजास्थलमा झण्डा गाडिएको दिनदेखि सबै गाउँले साकाहारी खानपान सुरु गरेका छन् ।
गाउँको बजारमा पनि माछा–मासु बिक्रीमा रोक लगाइएको छ । घरमा मासु ल्याउन वा खानेलाई १० हजार रूपैयाँ दण्डित गर्ने उर्दी जारी गरिएको छ । हिन्दु मात्र होइन महायज्ञको आयोजनले मुस्लिम समुदाय पनि हर्षित छन् । महायज्ञको सफल आयोजनाका लागि सबै होस्टेमा हैसे गरिरहेका छन् । तयारी पनि तीव्र गतिमा भइरहेको छ । आफुहरूले तन, मन र धनले यो महायज्ञमा सहयोग गरिरहेको मुस्लिम समुदायका नइम मिया शेषको भनाइ रहेको छ ।
तर हिन्दुधर्मकै दलित समुदायलाई भने सहभागी हुन दिइएको छैन । दलित समुदाय समान सहभागीताको लागि आन्दोलनमा ओर्लिनुपर्ने बाध्यता दुःख कुरा भएको स्थानीय युवाहरूको एक समूहको भनाइ पनि छ । समय परिवर्तन भएकोले २१ सौं शताब्दीमा पनि जातिय भेदभाव गलत रहेको स्थानीय नेपाली कांग्रेसका युवा नेता पोषण लामिछाने भनाइ छ । महायज्ञका लागि अन्य ६ वटा टोलबाट चन्दा लिए पनि दलित समुदायबाट चन्दा लिने क्रममै रहेको पूजा समितिले बताएको छ ।
महायज्ञको मुल आयोजक समिति गठन हुने समय दलितबाट कोइ पनि सहभागी नभएकोले समितिमा नराखिएको उपाध्यक्ष हरिनारायण यादव भनाइ थियो । तर यज्ञको पूजाको झन्डा गाडिएको दिन दलित समुदायका बृद्ध योगी बाबाबाट पूजा गराइएको उनको दाबी थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्री भने यो विषय आपसी छलफलका माध्यमले सुल्झाउनु पर्ने बताउँछन् । कुनै पनि समुदायसँग छुवाछुत र जातीय विभेद गर्न नपाइने उनको भनाइ थियो ।
तर महायज्ञमा प्रवेश गर्न पाउनुपर्ने र छुवाछुतको विभेद गर्नेहरूलाई कारबाही हुनुपर्ने आफ्नो चाहना भए पनि यज्ञलाई सफलता साथ पूरा गर्न समाजको पनि कुरा लागु गर्नुपर्ने त्यतिकै बाध्यता रहेको वडाध्यक्ष क्षेत्रीको भनाइ छ । ‘व्यक्तिगत रुपमा म छुवाछुत बिरोधी हु, म सबै धर्म र जातका व्यक्तिहरूको घरमा खानुदेखि पूजापाठमा सहभागी हुने गर्दछु, तर गाउँमा हुन लागेको महायज्ञमा समाजले गरेको निर्णयको विरोध गर्न कठिन छ,’ वडाध्यक्ष क्षेत्रीले भने । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले छिटै दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या सुल्झाइने बताए ।
अनिल तिवारी । वीरगञ्ज