सूचनाको शक्ति - The Power Of Information

        

आजबाट घट्यो ब्याजदर, कुन बैंक र फाइनान्सको कति ?

वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागु भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, बिकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधवारवाट लागु भएको हो ।

चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए । ‘सबै संस्थाको निर्णय अनुसार चैत १ गतेदेखि लागु हुने गरी ब्याजदर घटेको छ,’ उनले भने ।

जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ भने निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् ।

यसअघि साधारण बचतमा न्यूनतम ६ ४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ । यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ ।

यसैगरी, चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर दिनेछन् । नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स)ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ ।

सङ्घले तीन महिनामाथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गतेदेखि लागु हुने गरी ब्याजदर घटाएको हो । फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०९:३२