सूचनाको शक्ति - The Power Of Information

        

नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री ढुक्क

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दोस्रो चौमासिक समीक्षाका लागि मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने जिकिर गर्दै भन्नुभयो– ‘यही सरकारले निरन्तरता पाउनेमा म ढुक्क छु ।

यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन । सरकारको नेतृत्व तलमाथि हुँदैन । मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन ।

कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।’ प्रचण्डले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने समेत बताउनुभयो ।

कार्यक्रममा उहाँले राष्ट्रपतिको निर्वाचन सकिएको र उपराष्ट्रपतिको निर्वाचनसमेत चैत्र ३ मा भइसकेपछि मन्त्री परिषद् विस्तारले पूर्णता पाउने जानकारी पनि दिनुभयो ।

सत्ताको जिम्मेवारीमा पुर्‍याउन सहयोग गरेको नेकपा (एमाले) सहितको गठबन्धनबाट राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा अलगीएसँगै सरकारले विश्वासको मत लिनुपर्ने नैतिक जिम्मेवारी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारको कामलाई चाँडै टुंग्याउने सरकारको तयारी रहेको पनि बताउनुभयो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०७:१४