सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको बधाई

राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिनुभएको छ ।

एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सीले नेपालको राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा रामचन्द्र पौडेललाई बधाई दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आफ्नो सन्देशमा सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गर्नुभएको छ । उहाँले सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र चीनबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गर्दै स्वस्थ र स्थिर विकासमा सहकार्य गरेको उल्लेख गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुएको छ ।

विकास र समृद्धिका लागि मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्धन गर्नका लागि तयार रहेको पनि चिनियाँ राष्ट्रपति सीले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १८:४३