सूचनाको शक्ति - The Power Of Information

        

दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी हुम्लाकी एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको छ ।

हुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया गर्भवती महिला जुनकला कामीको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

आइतबार सुत्केरी व्यथा लागेलगत्तै गर्भवती कामीलाई चंखेली गाउँपालिकाको पिप्लाङ स्वास्थ्य चौकीमा ल्याएर उपचार सुरु गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।

बच्चा उल्टो भएको र सालनाल अगाडि निस्केकी जुनकलाको उद्धार गर्ने कार्य भएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । ‘जटिल खालको सुत्केरी व्यथा लागेकी गर्भवती अवस्था निक्कै जटिल भएको छ,’ उनले भनिन्, ‘अहिले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १७:०७