सूचनाको शक्ति - The Power Of Information

        

सेटिङ्गमै हमला गरेपछि देशभरका भन्सार कार्यालय तरङ्गित

एक व्यक्ति इमान्दार भएर काम गर्ने हो भने राज्य संयन्त्र कति धेरै परिवर्तन गर्न सक्छ भन्ने कुरा हालै राजश्व अनुसन्धान विभागको नेतृत्व परिवर्तनले देखाएको छ । विभागमा नारायण सापकोटा महानिर्देशक बनेलगत्तै सिंगो भन्सार प्रशासनको कार्यशैली फेरिएको छ ।

विभागमा उनको कार्यशैलीले देशभरीका भन्सार कार्यालयमा तरंग उत्पन्न भएको छ । देशभरी भन्सार राजश्व अस्वभाविक घटेपछि त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारीसहित गत महिना सरकारले उनलाई भन्सार चुहावट नियन्त्रणको जिम्मेवारीसहित राजश्व अनुसन्धानमा पठाएको थियो । जसको नजिता एक महिनामै देखिन थालेको छ ।

यसअघि भन्सारमा दैनिक राजश्व एक अर्ब भन्दा कम उठ्थ्यो । फागुन महिनामा सवा अर्ब भन्दा धेरै राजश्व उठिसकेको छ । अझ भन्सारमा हुने सेटिङ भत्किएपछि धेरै सामानको भन्सारपास रोकिएको छ । मिलेमतोमा पास भएका गाडीहरु एकपछि अर्काे राजश्व अनुसन्धानले नियन्त्रणमा लिन थालेपछि व्यापारीहरुले सामान रोकेर ‘पर्ख र हेर’को रणनीति लिएका छन् ।

साथै आउने सामानमा पनि वास्तविक भन्सार तिराउन थालिएको छ । यसले भन्सार राजश्वको असुलीमा सुधार भएको छ । स्रोतका अनुसार राजश्व अनुसन्धानले भन्सारका केही कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ । विमानस्थलबाटै छुटेका केही गाडी समेत नियन्त्रणमा लिएर जरिवाना गराई छाडिएको छ । यसअघि गाडी समाउने र मिलेमतोमा छाड्ने प्रवृत्ती व्याप्त थियो ।

अहिले अधिकतम धरौटी तिराउन थालेपछि तस्करी गर्ने व्यापारी तथा भन्सार एजेन्टसमेत हैरान भएका छन् । साथै एक महिनामै विभागले ६० करोड रुपैयाँ बिगो बराबरको मुद्दा दायर गरिसकेको छ । विभागको नेतृत्वले अर्थ मन्त्रालयलाई भने राहत भएको छ । तर, सेटिङमा गएका भन्सारका कर्मचारी तथा भन्सार एजेन्टहरुको भने निदहराम भएको छ ।

महानिर्देशक सापकोटा यस अगाडि भन्सार विभागको महानिर्देशक हुँदा उनले भन्सारबाटै सुधार थाल्ने प्रयास गरेका थिए । तर, त्यो कुरा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई मन परेन र उनी हटाइए । अहिले सापकोटाले राजस्व चुहावटको मूलढोका भन्सारलाई तारो बनाएका छन् । उनले भन्सार महानिर्देशकदेखि सबैलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १५:५९