सूचनाको शक्ति - The Power Of Information

        

समीक्षासँग विहे गरेपछि १० महिनामै टुट्यो नायिका वर्षा र आशिषको सम्बन्ध

नायिका वर्षा शिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेको एक वर्ष पनि भएको छैन । उनीहरूले गत वैशाखमा गुपचुप विवाह गरेका थिए । विवाहको १० महिनामै दुवैको वैवाहिक सम्बन्ध अन्त्य भएको छ ।

वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं । हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं । तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद । सप्रेम – आशिष र वर्षा ।’

बीचमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको लख काटिएको थियो । यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन् । एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भयो । सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरियो ।

उनीहरूको वैवाहिक अवस्थाबारे वर्षाले प्रष्ट केही खुलाएकी छैनन् । उनले ‘सामाजिक सञ्जाल पारदर्शी छ । पब्लिक रुपमा यसबारे बोल्नु छैन । जसले जे सोच्दा पनि हुन्छ । सबैलाई आफूखुसी सोच्ने स्वतन्त्रता छ,’ मात्र भनेकी छन् । सोमबार बाजा बजाएर आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला परेपछि नायिका वर्षाको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ ।

अमेरिका घुमेर फर्किए लगत्तै नायिका वर्षाले २०७९ वैशाखमा आशिषसँग विवाह गरेको बाहिरिएको थियो । उनले इन्स्टाग्राममा तस्विर राखेर यसको पुष्टि गरिन् । पछि वैवाहिक कार्यक्रमका थप तस्विर पनि बाहिरिए । उनले अमेरिका निवासी इन्जिनियर गेलालसँग मागी विवाह गरेकी थिइन् । परिवारबाट विवाहको कुरा आएपछि उनले अमेरिका गएर आशिषलाई भेटेकी थिइन् । पछि विवाहको योजना बनाएर दुवैले नेपाल फर्किएर विवाह गरेका थिए ।

विवाह भएको ४ दिनमै उनका श्रीमान आशिष वर्षालाई छाडेर अमेरिका पुगे । वर्षा ‘लक्का जवान’ फिल्मको प्रमोसनमा व्यस्त थिइन् । फिल्म रिलिज भएपछि उनी अमेरिका गइन् । वर्षाले नेपाल फर्किएलगत्तै श्रीमानसँगको फोटो सामाजिक सञ्जालबाट हटाएकी थिइन् । सोमबार त आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्विरै बाहिरियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १४:३७