सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्री बद्री न्यौपाने पत्रकार सम्मेलनमै किन रोए धरधरी ?

भ्रष्टाचार मुद्दा लागेपछि पूर्वमन्त्री बद्री न्यौपानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले साढे ९ वर्ष कैद सजाय र साढे २ करोड जरीवाना सुनापछि मंगलबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले आफू निर्दोष रहेकाले सफाइ पाउनुपर्ने बताएका हुन् ।

फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालत जान आफूसँग एक रुपैयाँ पनि नभएको दाबी गर्दै पत्रकार सम्मेलनका बीचमा धरधरी रोएका पूर्वमन्त्री बद्री न्यौपानेले जनताले सहयोग गरे अदालत जाने बताए ।

उनले रुँदै भने, ‘पूर्णपाठ आएको ३५ दिनभित्र म जानुपर्छ । म सम्मानित अदालतमा न्यायका लागि जान्छु । तर मसँग पैसा हुनुपर्यो नि ! कसैले माया गरे, सहयोग गरे म जान्छु तर मसँग भएन भने मैले कहाँबाट ल्याउनु ? त्यत्रो पैसाको बिगो मैले कहाँबाट तिरौं ? कहाँ धरौटी राखौं ? मसँग के छ र ? सडकमा बसेको सुकुम्वासी हुँ, मेरो केही उपाय छैन । बद्रीलाई अन्याय भएको छ भनेर नेपाली जनताले सहयोग गरे जाने हो । नत्र म कहाँबाट जाने ?’

उनले आफ्नो राजनीति सिध्याउने प्रयास भएको आरोप लगाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको उनको भनाई थियो । समाज कल्याण परिषदले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भए पनि आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको उनले बताए ।

मन्त्रिपरिषद्ले ‘परिषद् आफैंमा स्वसासित संस्था हो, यसअघि जे गरेको छ, त्यही अनुसार गर्नु’ भनेर आएपछि आफूले बोर्ड बैठक राखेर निर्णय गरेको उनले सुनाए । मन्त्री पदमा रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

सो मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला सुनाएको छ । न्यौपानेबाट जरिवाना तोकिएको रकमजति नै बिगो असुल गर्ने फैसला पनि विशेष अदालतले गरेको छ । न्यौपाने तत्कालीन माओवादी नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चुरे भावर पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १३:३९