प्रकृतिको कुचिकार भनिने पक्षी गिद्ध संकटमा परेको छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधीको बढ्दो प्रयोग र आहार अभावले गिद्ध संकटमा परेको हो ।
यहाँको पाटन नगरपालिका–८ स्थित सिद्धनाथ धाम क्षेत्र, पाटनकै वडा नम्बर ३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चाैडी नगरपालिका केही क्षेत्र गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ ।
पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छोडेका नेपाल पक्षी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराले बताए । विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिन छोडेका छन् ।
‘गिद्ध संकटमा परेका छन्, केही वर्षयता गिद्धहरुको कम संख्यामा देखिन थालेका छन्,’ उनले भने, ‘पहाडी क्षेत्रमा गिद्ध संकटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो ।’ फागुनदेखि जेठसम्म प्रजनन गराउने समयमा रहेकाले यहि समयमा आगलागी बढ्ने गरेकोले गिद्ध हराउन थालेका हुन् ।
‘प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध संकटमा परेका छन्,’ उनले भने, ‘आहार र बासस्थान कमी भएपछि हराउन थालेका हुन् ।’ प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धको लागि गुँड बनाउने ठुल्ठुला रुख नभएकाले लोप हुँदै गएको बताइन्छ ।
यसका साथै पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड (जनावरमा दुखाइ कम गर्ने) जस्ता औषधीको प्रयोगले पनि गिद्धको स्वास्थ्य प्रतिकूल असर पु¥याउने पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चरा विज्ञको भनाइ छ ।
साथसाथै आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत लाइनमा ठोक्किएर पनि मर्ने गरेको विज्ञ डगौराको भनाइ छ । चरा विज्ञका अनुसार बैतडीमा हिमाली गिद्ध, हाडफोर, गोब्रे गिद्ध (सेतो गिद्ध), राज गिद्ध, सुन गिद्ध, डङर तथा सानो खैरो गिद्धगरी आधा दर्जनभन्दा बढी गिद्ध बस्ने गरेका छन् । गिद्ध आफैँले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्छ ।
फोहोर तथा हानिकार मासुजन्य सिनोलाई खाएर वातावरण प्रदूषित बनाउनबाट जोगाउने गरेको छ । गिद्धले हानिकारक तत्त्वलाई पनि पचाउनसक्ने क्षमता हुने भएकाले वातारवरण पनि स्वच्छ राख्ने काम गर्छ । सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीको भनाइ छ ।
गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक्का गरी नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । सरकारबाट संरक्षणका लागि छुट्टै कार्यक्रम नभएकोले गिद्ध लोप हुने अवस्था आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।
सत्यपाटी संवाददाता । बैतडी