सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा फेरि १६ वर्षे पेन्सन योजना

सुरक्षा निकायमा उच्च प्रहरी अधिकारी जागिर लम्बाउने प्रयासमा लागिरहँदा तल्लो तहका प्रहरी भने छिटो अवकाशका लागि माग गर्दै आएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १६ वर्षमा पेन्सनको सुविधा दिन माग हुँदै आएको छ । सशस्त्र प्रहरीले भने हालै यससम्बन्धी प्रस्ताव अघि बढाएको छ । स्रोतका अनुसार गृह मन्त्रालयसँग छलफल गरेर सशस्त्र प्रहरीले सशस्त्र प्रहरी नियमावली संशोधनको प्रस्ताव अघि बढाएको हो ।

हालको सरकार यसमा सकारात्मक भएकाले यो प्रावधान पास हुने सम्भावना रहेको गृहका एक अधिकारी बताउँछन् । सरकारले नेपाली सेनामा सो व्यवस्था गरिसकेको छ । नेपाल प्रहरीबाट पनि एक वर्षअघि नै गृह मन्त्रालयमा यससम्बन्धि प्रस्ताव अघि बढे पनि त्यो त्यत्तिकै रोकिएको छ ।

हाल पेन्सनका लागि न्यूनतम सेवा अवधि २० वर्ष छ । २० वर्ष सेवा गर्दा उमेर ४० वर्ष पुग्ने र त्यसपछि विदेशमा कम अवसर पाउने भएकाले १६ वर्षमै पेन्सनको व्यवस्था गर्न प्रहरी अधिकारीले दबाब दिदै आएका हुन् । तल्लो तहका प्रहरीलाई सुविधा थोरै र दुःख धेरै भएकाले पेन्सन अवधि पुगेलगत्तै स्वेच्छिक अवकाश रोज्ने गरेका छन् ।

नेपाली सेनामा १६ वर्ष अवधि पुगेलगत्तै अवकाश लिन पाइने तर २० वर्ष पुगेपछि मात्र पेन्सन पाउने व्यवस्था गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले पनि यस्तो सुविधा दिन नेतृत्वलाई आग्रह गर्दै आएका छन् । यो प्रावधानले राज्यलाई आर्थिक भार पनि नपर्ने र नयाँले रोजगारीको अवसर पनि पाउने भएकाले १६ वर्षे पेन्सनको नीति लिनुपर्ने दबाब राज्यमाथि छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १०:५५