सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति उपराष्ट्रपतिको तलब कति हुन्छ ?

बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन् ।

ती सेवासुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था गरिएको छ । उक्त ऐनले मासिक पारिश्रमिकलगायत अन्य सेवासुविधाको व्यवस्था गरेको छ ।

ऐनअनुसार बहालवाला राष्ट्रपतिले पारिश्रमिकबापत प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रूपैयाँ पाउँछन्। राष्ट्रपतिका लागि पोसाक भत्ता वार्षिक २५ हजार रूपैयाँ दिने व्यवस्था हुन्छ ।

उपराष्ट्रपतिले भने मासिक पारिश्रमकि १ लाख ८ हजार ३० रूपैयाँ तथा पोसाकका हकमा वार्षिक २० हजार भत्ता बुझ्ने गर्छन् । राष्ट्रपति–उपराष्ट्रपतिलाई मासिक पारिश्रमिक बराबर अतिरिक्त रकम दिने व्यवस्था पनि गरिएको छ।

उक्त रकम भने अतिथि सत्कार तथा भैपरि आउने खर्च शीर्षकअन्तर्गत छुट्याइन्छ ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०७:४७