सूचनाको शक्ति - The Power Of Information

        

स्ववियु निर्वाचन : कसरी प्रचारप्रसार गर्ने ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबारबाट प्रचारप्रसार सुरु भएको छ ।

फागुन २९ गते (हिजो) दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता र दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचारप्रसार सुरु भएको हो । उमेदवारले अब चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।

स्ववियु निर्वाचनको आचारसंहितामा प्रचारप्रसार गर्न रंगगरोगन गर्न नपाइने उल्लेख छ । कुनै पनि प्रकारको पोस्टर टाँस्न पनि पाइने छैन ।आचारसंहितामा निर्वाचन सम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन् । सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिइएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०७:१५