सूचनाको शक्ति - The Power Of Information

        

पुस्तक टिप्पणी

रानीतलाउमा नेपालगन्जको हाफ-छाँया

पौने तीन सय वर्ष पुरानो नेपालगन्ज शहरमा अझै छन्, पिङंकी र लतिफ । रेखा र बब्लु । रन्जन र प्रशान्तजस्ता पात्रहरु छन् ।

त्रिभूवन चोकदेखि झन्डै एक सय मिटर पूर्वमा छ, रानीतलाउ । यो शहरको पहिचान बनेको रानीतलाउलाई बिम्ब मनाएर लेखिएको उपन्यास हो यो । केहि दिन अघि त्यहि रानीतलाउमा विमोचन भएको थियो । उपन्यास एकदम सामान्य छ ।

कथा बलियो छैन । पात्र चित्रण सशक्त छैन । कथानकमा अझै मेहनत गरेको भए हुन्थ्यो भन्ने लाग्छ नै । हिन्दी भाषा भन्दा नेपालगन्जको मौलिक भाषा र लवजको प्रयोग गर्न सकिने थियो । पुनर्लेखन र सम्पादनमा थुप्रै पटक काम गर्नुपर्ने थियो । तर यो औसत किताबले नेपालगन्जको एउटा समय खण्डको चित्रण गर्छ । विशेष गरी २०४७ सालअघिको ।

पौने तीन सय वर्ष पुरानो नेपालगन्ज शहरमा अझै छन्, पिङंकी र लतिफ । रेखा र बब्लु । रन्जन र प्रशान्तजस्ता पात्रहरु छन् । यो उपन्यासले नेपालगन्जको जातीय सद्भावको मुद्दालाई बलियो गरि समातेको छ । मुस्लिम धाईआमाको भूमीका, आआफ्ना जातीय पहिचान, चाडपर्व र संस्कारमा एकअर्काको सहयोगले नेपालगन्जको कथालाई सुन्दर बनाएको छ ।

किशोर किशोरीमा हुने शारीरिक परिवर्तनले उत्पन्न गरेको कौतुहलता अन्तरजातीय तथा अन्तरधार्मीक प्रेममा परिणत हुन पुग्छ । उनीहरुले सामाजिक संकुचनको भूमरीमा निसास्सीनु पर्छ । फलस्वरुप एउटा विवाहले नेपालगन्जको जातीय तथा धार्मिक सहिष्णुता खल्बलिन्छ पनि ।

दाइजो प्रथा र गगनगन्जको गोप्य घरमा चाँदनी पात्रको अन्धकार कथाले मन छुन्छ । पढाई छोडेर लतिफ रिक्सा चलाउन जान्छ । जापान उडेको बब्लु मृत अवस्थामा फर्किन्छ र एक्लो बनेको म पात्र अर्थात् रेखालाई प्रशान्तले साथ दिने बाचा गरेपछि उपन्यासको अन्त्य हुन्छ । उपन्यास हरेक दृष्टिकोणबाट सामाजिक छ । अथार्थवादी छ ।

०००

यो उपन्यासलाई लिएर नेपालगन्जका केहि व्यक्तिहरुले आपत्ती नै जनाए । यस्तो उपन्यास लेख्ने ? भनेर जिब्रो टोके, औला उठाए । उपन्यास पढिसकेपछि पो मैले थाहा पाएँ, यसरी लेखक माथि प्रहार गर्नुको गोप्य कुरा अर्कै रहेछ । सत्य हो कि, किशोरावस्थामा आएको शारिरिक परिवर्तनलाई उपन्यासले सिधा भाषामा सम्वाद गर्छ । रजस्वला हुँदा देखिने रगतलाई रगतै भन्नुपर्ने होला नी ।

समाजको अध्यारोमा बसेर उज्यालो कसरी गलत हुन्छ ? यौन नभएको समाज कहाँ छ ? घर कहाँ छ ? यति सानो कुरा स्वीकार गर्न नसक्ने लेखक, कवि, कलाकार पनि हुन्छ र ? किताब नपढ्ने अनि दुई पेज पढेर सिङ्गो उपन्यास र लेखकलाई नै लल्कार्ने प्रवृत्ति बन्द गरुम न हुन्न ?लभ इन जेरुसेलमभन्दा उच्चस्तरको किताब बनेको छ रानीतलाउ । र यो किताबभन्दा पुरुष झन् स्तरीय बनेको होला भन्ने अपेक्षा गर्दछु । कल्पना खरेललाई हार्दिक बधाई र निरन्तर लेखनका लागि शुभकामना ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०७:०५