सूचनाको शक्ति - The Power Of Information

        

भेट्टाएको लाखौं रुपैयाँ प्रहरीलाई बुझाउँदा उल्टै सजाय !

एक ग्राहकले रेस्टुरेन्टमा खाना खाए। तर बिल दिएपछि पर्स त्यहीँ बिर्सिए । पर्समा झण्डै चार लाख रुपैयाँ थियो । एक सफाई कर्मचारीले त्यो पर्स देखेपछि इमान्दारिता देखाउँदै प्रहरीलाई बुझाएकी थिइन् ।

तर यसले रेस्टुरेन्टका व्यवस्थापकलाई रिस उठ्यो र उनले सफाई कर्मचारीलाई बर्खास्त गरे। अहिले सामाजिक सञ्जालमा यी इमान्दार सफाई कर्मचारीका लागि मानिसहरुले आवाज उठाइरहेका छन् । कुरा चीनको हो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार लिओनिङ प्रान्तको एक रेष्टुरेन्टमा एक ग्राहकले २० हजार युआन (३ लाख ७६ हजार रूपैयाँ) रेस्टुरेन्टमा बिर्सेका थिए । सोङ नामकी क्लिनरले पर्स देखेपछि रेष्टुरेन्टका प्रबन्धकलाई खबर गरी स्थानीय प्रहरीमा खबर गर्न सुझाव दिइन् ।

तर प्रबन्धकले उनलाई गाली गरे र आफ्नै काममा ध्यान दिन भने । सोङले महसुस गरिन् कि प्रबन्धकले यसको मालिकलाई पैसा फिर्ता गर्ने कुनै मनसाय थिएन । यस्तो अवस्थामा उनले आफैंले प्रहरीलाई खबर गरेकी थिइन् । यसबाट म्यानेजर रिसाए र सोङलाई कामबाट निकाले ।

रेस्टुरेन्टका प्रबन्धकले सोङलाई आफूले काम गर्ने सफाई कम्पनीका प्रत्यक्ष प्रबन्धकसँग यो विषय उठाउनुपर्ने बताए । म्यानेजरले भने, तिम्रो मालिकले पुलिस बोलाउन चाहन्छ भने म गर्छु । यो मामिलामा तिमीसँग कुनै सम्बन्ध छैन ।

यतिबेला सोङको कथा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मानिसहरुले यसको तारिफ गरिरहेका छन् । स्थानीय अधिकारीहरुले पनि उनको प्रशंसा गरेका छन् । यति मात्र होइन, उनीहरू सोङका लागि नयाँ काम खोज्न पनि सहयोग गरिरहेका छन् ।

एक चिनियाँ प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्, सोङलाई इमानदारीका कारण सजाय दिइएको छ । अर्कोले लेखे, उनलाई पुरस्कृत गर्नुपर्छ । तेस्रोले भने, सत्यको लागि आफ्नो जागिर दाउमा लगाइन् । अर्का प्रयोगकर्ताले भने, उनको इमान्दारितालाई सलाम ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १९:१६