सूचनाको शक्ति - The Power Of Information

        

अनुदान कटौती

रासायनिक मलमा अनुदान घट्यो, मूल्य बढ्यो, किसान मारमा

सरकारले अनुदानबापत दिँदै आएको रकम अब किसानले नै व्यहोर्नुपर्नेछ । यसले किसानले उत्पादन गर्ने कृषिजन्य वस्तुको लागत बढ्नेछ ।

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम घटाएर मूल्य बढाएको छ । आज (फागुन २९ गते) राति १२ बजेदेखि लागु हुनेगरी मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आन सम्पन्न बैठकले रासायनिक मलको मूल्य बढाएको हो ।

जसअनुसार युरियाको मूल्य प्रतिकेजी ११ रुपैयाँ, डीएपीको मूल्य प्रतिकेजी सात रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी नौ रुपैयाँ बढेको छ । त्यस्तै, उक्त निर्णयअनुसार सरकारले रासायनिक मलमा दिने अनुदान रकम घटाएको छ ।

यसअघि मलमा सरकारको अनुदानमा ७०.८२ प्रतिशत दिँदै आएको थियो भने अब घटेर ५९.०४ प्रतिशत कायम भएको बताइएको छ । यसबाहेक सरकारले युरियामा करिब ८० प्रतिशत, डीएपीमा करिब ६० प्रतिशत र पोटासमा करिब ५९ प्रतिशत अनुदान दिन्थ्यो ।

सरकारले ११.७८ प्रतिशत अनुदान कटौती गरेको हो । मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव किसानलाई पर्ने देखिएको छ । सरकारले अनुदानबापत दिँदै आएको रकम अब किसानले नै व्यहोर्नुपर्नेछ । यसले किसानले उत्पादन गर्ने कृषिजन्य वस्तुको लागत बढ्नेछ ।

अब बढाइएको मूल्यअनुसार युरियाको मूल्य प्रतिकेजी २५ रुपैयाँ, डीएपीको मूल्य प्रतिकेजी ५० रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ । यसअघि, युरिया प्रतिकेजी १४ रुपैयाँ, डीएपी प्रतितोला ४३ रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी ३१ रुपैयाँ थियो ।

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार उपलब्ध एक अर्ब बजेटबाट हालसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडबाट जी–जी विधिबाट भारत सरकारबाट खरिद गरिएको ३० हजार मेट्रिकटन आयात भएको छ । त्यस्तै, अब बाँकी ९४ मेट्रिकटन मल आयातको क्रममा रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १८:४३