सूचनाको शक्ति - The Power Of Information

        

पदभार ग्रहणपछि राष्ट्रपति रामचन्द्र पौडेलले के गरे पहिलो निर्णय ?

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले सोमवार पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

उनलाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुन बमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १७:५०