नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान लक्ष्यअनुरूप सफल नभएपछि अभियानको समय थप गरिएको छ । १२ पटकसम्म अभियान चलाउँदा पनि धेरैले औषधि नखाएपछि १३औँ पटक यस वर्ष फेरि अभियान चलाइएको हो ।
शतप्रतिशत ‘कभरेज’को लक्ष्य लिएर १३औँ पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत ५० प्रतिशत पनि कभरेज नभएपछि १५ दिन समय थप गरिएको छ ।
फागुन ११ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म उपमहानगरमा ४८ प्रतिशतले मात्र औषधि सेवन गरेकाले १५ दिन थप गरेर बढीभन्दा बढीलाई खुवाउने रणनीति तयार गरिरहेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । यो अवधिमा कभरेजलाई ८० प्रतिशतभन्दा बढी गर्ने उद्देश्य रहेको छ ।
नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले अब केही समय लम्ब्याएर भए पनि कभरेज बढाउने रणनीतिका साथ अघि बढ्नुको विकल्प नरहेको जनाउँदै उनले सबै जनप्रतिनिधि र सरोकारवाला निकाय र स्वयं नागरिक यसमा गम्भीर बन्नुपर्ने बताए ।
स्वास्थ्य महाशाखाको तथ्याङ्कअनुसार उपमहानगरपालिकाको वडा नम्बर ३, ५, ७, ८, ११ र १६ मा ३० प्रतिशतभन्दा कमले औषधि सेवन गरेका छन् । यस्तै वडा नम्बर २, ४, ६, १२, १९, २०, २१ र २२ मा ५० प्रतिशतभन्दा कम कभरेज रहेको देखिएको छ ।
हात्तीपाइले रोग ‘फोकल पर्सन’ दुर्गा गौतमले नेपालगञ्ज उपमहानगरपालिकामा ४८ प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेकाले कभरेज बढाउनु चुनौती रहेको बताए ।
सत्यपाटी संवाददाता । बाँके