सूचनाको शक्ति - The Power Of Information

        

१२.३९ प्रतिशतले बढ्यो खाद्य पदार्थको मूल्य

चालु आर्थिक वर्षको माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघ महिनाको तुलनामा यस वर्षको माघ महिनामा १.६४ प्रतिशतले मुद्रास्फीति बढी भएको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मूल्य बढेको जनाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको माघ महिनामा खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.२२ प्रतिशत रहेको छ । माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.२४ प्रतिशत बढेको छ ।

खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशतले मूल्य बढेको छ । सुर्तिजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले मूल्य बढेको छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूह अन्तर्गत समूहको मूल्य सूचकांक १५.५८ प्रतिशतले मूल्य बढेको छ ।

स्वास्थ्यको १०.३९ प्रतिशत, घरयासी उपयोग्य वस्तु ९.७८७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृति ८.८१ प्रतिशतले मूल्य बढेको छ । माघ महिनामा काठमाडौं उपत्यकामा ८.७४ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । आघिल्लो आर्थिक वर्षको माघ महिनामा काठमाडौंमा ५.७४ पतिशत, तराईमा ६.५०, पहाडमा ६.७१ र हिमालमा ५.९७ प्रतिशतले मुद्रास्फीति भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:३२