सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, शीतल निवासबाट बाहिरिइन् विद्या भण्डारी

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच नवनिर्वाचित पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेललाई शपथ ग्रहण कार्यक्रममा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको छ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । पौडेल फागुन २५ गते सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

यसैबीच, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिएको छ । कार्यकाल सकिएसँगै निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट विदा भएकी छन् । लगातार दुई कार्यकाल पूरा उनी सोमबार शीतल निवासबाट विदा भएकी हुन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदा गरे ।

भण्डारी शीतल निवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भण्डारी यसअघि काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा थिइन् । तर, त्यहाँ मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि छोरीको घरमा बस्न लागेको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १४:२९