सूचनाको शक्ति - The Power Of Information

        

स्ववियु निर्वाचन-२०७९: चुनाव प्रचारका लागि ६ दिन मात्र

त्रिभुवन विश्वविद्यालयले ६ दिन मात्र चुनाव प्रचारप्रसार गर्न पाइनेगरी कार्यतालिका लागु गरेको छ ।

त्रिविले उम्मेदवारको खर्च कम गर्न र क्याम्पसमा धेरै समय पढाइमा बाधा हुन नदिन ६ दिनको समय तोकेर प्रचार गर्न दिएको हो । त्रिविले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि अर्थात २ गते मध्यरातदेखि कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ ।

कार्यतालिकाअनुसार आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

आइतबार उम्मेदवारको मनोनयन दर्ता भएलगत्तै विद्यार्थी संघसंगठनहरूले शान्तिपूर्ण रूपमा चुनावी प्रचार शुरू गरेका छन् । चुनाव प्रचारको क्रममा निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनले पहिलाजस्तो क्याम्पसको बाहिर, भित्र र क्याम्पस परिसरमा वालपेन्टिङ गरेका छैनन् ।

केही संगठनले क्याम्पस परिसरमा राखेको तुल र ब्यानरसमेत क्याम्पस प्रशासनले हटाएको छ । भित्ते लेखनलाई पूर्ण निषेध गरिएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ०७:४६