सूचनाको शक्ति - The Power Of Information

        

उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम

उपराष्ट्रपतिका उम्मेदवार क्रमशः अष्टलक्ष्मी शाक्य, रामसहाय प्रसाद यादव, प्रमिलाकुमारी यादव र ममता झा ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत महेश शर्मा पौडेलले आइतबार दिउँसो जारी गरेको विज्ञप्तीमा अष्टलक्ष्मी शाक्य (बोहोरा), प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादव गरी चार जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

बुवा तीर्थबहादुर शाक्य र आमा कुलमाया शाक्यकी सुपुत्री अष्टलक्ष्मी शाक्यको पति अमृत बोहोरा हुन् । काठमाडौं नागार्जुन नगरपालिका–३, पाँचधाराकी ६९ वर्षीय शाक्य महिला एवम् आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गरेको विज्ञप्तिमा उल्लेख छ । उनी नेकपा (एमाले)को तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार भएकी हुन् ।

बुवा सत्यनारायण यादव र आमा मुनियाँदेवी यादवकी सुपुत्री प्रमिला कुमारीको पति विजेन्द्रकुमार राय हुन् । सुनसरीको कोशी गाउँपालिका–१, लौकही बजारकी ५५ वर्षीया यादव महिला एवम् मधेसी समुदायबाट उम्मेदवार भएको विज्ञप्तिमा जनाइएको छ । यस्तै, बुवा प्रमादराय यादव र आमा सिहवा देवीको पुत्र रामसहाय यादवकी पत्नी चम्पादेवी यादव हुन् ।

बाराको सिम्रौनगढ नगरपालिका–९, बसवरियाका ५२ वर्षीया यादव पुरुष एवम् मधेसी समुदायबाट हुन् । जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहाय यादव उपराष्ट्रपति पदमा उम्मेदवार बनेका हुन् । बुवा जगदीश झा र आमा जयश्री झाकी सुपुत्री ममता झा महिला एवम् मधेसी समुदायबाट हुन् ।

सप्तरीको राजविराज नगरपालिका–७ की ५४ वर्षीया झा जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार हुन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा उपराष्ट्रपति पदमा फरक लिङ्ग वा समुदाय हुनुपर्ने व्यवस्था बमोजिम दलहरूले फागुन २७ गते शनिबार उम्मेदवारी मनोनयन गराएका थिए । उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १८:३०