सूचनाको शक्ति - The Power Of Information

        

खोलामा अवैध उत्खनन् हुँदा खेत बाँझै

खोलामा अवैध उत्खनन् हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ ।

यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे । ‘खोलाको दुईतिर खेत छ, ठूला–ठूला खाडल पारिएको छ,’ उनले भने, ‘तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।’

गतवर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाएनन् । यस वर्ष पनि रोपाइँ गर्न सक्ने अवस्था छाँटकाँट नरहेको उनको भनाइ छ । खोलामा अहिले पनि ठूला–ठूला खाडल पारेर उत्खनन् गरिएको छ ।

त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्यामा छन् । खेतमा पानी नजाँदा उनको खेत पनि बाँझै रहने गरेको छ । त्यस क्षेत्रमा करिब १०० बिघा खेत छ । वर्षामा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ ।

त्यो खोलामा व्यवस्थित अनुगमन नुहँदा मापदण्डभन्दा बढी उत्खनन् हुने गरेको छ । जसले गर्दा किसान मारमा पर्ने गरेका छन् । खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १३:३८