सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा को बन्ला नयाँ आइजीपी ? कुँवर र थापाको नाम चर्चामा

नेपाल प्रहरीका आइजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । उनीसँगै उनका ब्याची एआइजी र डीआइजीले पनि सोही मितिमा अवकाश पाउनेछन् ।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने चर्चा पनि छ । तर, अहिलेकै अवस्था कायम रहे आइजीपी सिंहको कार्यकाल दुई सातामा सकिनेछ । यस्तोमा नयाँ आइजीपी को बन्लान् भन्ने चर्चा सुरु भएको छ । नयाँ आइजीपीको दौडमा प्रस्तावित पाँच एआइजी देखिएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गएको शुक्रबार पाँच डीआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको थियो । सो सिफारिसका विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनीहरूको बढुवा कार्यान्वयन हुन्छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । त्यसपछि क्रमशः डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम छ । तर, एआईजीमा सिफारिस गर्दा आईजीपीकै ब्याची डीआईजी नपरेपछि उनीहरू असन्तुष्ट बनेका छन् ।

हाल प्रस्तावित सबै एआइजीहरू आइजीपीका जुनियर ब्याची हुन् । प्रस्तावित एआइजी ज्ञवालीको उमेर विवाद छ । उनले २५ वर्ष कटिसकेपछि सेवा प्रवेश गरेको खुलेको थियो । उनका कागजातबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरिसकेको छ ।

सरकारले एआइजीमध्येबाट जो कोहीलाई पनि आइजीपी नियुक्त गर्न सक्छ । एआइजीमा सिफारिस भएसँगै सबैले आइजीपीको दौडधुप सुरु गरेका छन् । विभिन्न शक्ति केन्द्रमा धाएर आफूलाई आइजीपी बनाउन उनीहरूले ‘लबिङ’ गरिरहेका हुन् ।

पहिलो नम्बरमा सिफारिस भएकाले भावी आइजीपीमा कुँवरको सम्भावना बलियो देखिन्छ । उनीबाहेक विभिन्न शक्ति केन्द्रले दीपक थापालाई पनि आइजीपी बनाउन खोजेको बताइन्छ । आइजीपीको दौडमा एक मात्र महिला किरण बज्राचार्य छन् ।

हालसम्म प्रहरी नेतृत्वमा महिला अधिकारी पुगेका छैनन् । उनी आइजीपी नियुक्त भए प्रहरीमा नयाँ इतिहास बन्नेछ । नयाँ आइजीपीका लागि कुँवर र थापाको नाम बढी चर्चामा रहेको गृह मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १३:२९