सूचनाको शक्ति - The Power Of Information

        

उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपतिमा चार जना उम्मेदवार

उपराष्ट्रपति पदमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झा उम्मेदवपार बनेका छन् ।

उपराष्ट्रपतिका उम्मेदवार क्रमशः अष्टलक्ष्मी शाक्य, रामसहाय प्रसाद यादव, प्रमिलाकुमारी यादव र ममता झा ।

उपराष्ट्रपति पदमा सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्ता गर्नेहरुमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा छन् । त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने भने पनि सहमति जुट्न नससक्दा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । शनिबार बिहान बालुवाटारमा साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यद्यपि उनीहरुले एक जनामा सहमति खोज्ने र दुई जनाको उम्मेदवारी फिर्ता गर्न सकिने बताएका छन् । यसअघि निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको थियो । तर आयोगको सुझावलाई बेवास्ता गर्दै पुरुषको समेत उम्मेदवारी गरेका हुन् ।

आयोगले राष्ट्रपतिमा खसआर्य समूहबाट पुरुष रामचन्द्र पौडेल निर्वाचित भैसकेकाले समावेशीताको सिद्दान्त अनुसार उपराष्ट्रपतिमा महिला वा अन्यले उम्मेदवारी दिन भनेको थियो । सत्ता गठबन्धन आवद्द दलहरुले राष्ट्रपति खस आर्य समूहबाट निर्वाचित भएकाले फरक समुदायबाट पुरुषले नै उपराष्ट्रपतिमा उम्मेदवारी दिन मिल्ने जिकिर गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १५:०३