उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ घरमा अभिभावक नभएको बेला बिजुली सर्ट भएर आगलागी हुँदा बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेशकुमार पोदारले जानकारी दिए ।
‘घरमा अभिभावक नभएको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा बालबालिकाको घटनास्थलमै मृत्यु भएको हो,’ पोदारले भने, ‘बुवाआमा काममा घर बाहिर गएको बेला आगलागी भएछ । छिमेकीले गएर आगो निभाउँदा घरभित्रै मृत्यु भइसकेको अवस्थामा बालबालिकाको शव फेला परेको हो ।’
आगलागीबाट मगरको घरसमेत जलेर नष्ट भएको छ । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
सत्यपाटी संवाददाता । उदयपुर