अखाद्य र गुणस्तरहीन चामल बोकेर नेपालगन्ज भन्सार कार्यालयमा पुगेका विश्व खाद्य कार्यक्रमका तीन वटा कन्टेनर डेढ महिनादेखि अलपत्र छन् । विश्व खाद्य कार्यक्रमले जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको जनाउँदै भन्सार कार्यालयले रोकिदिँदा तीन वटा कन्टेनर डेढ महिनादेखि त्यहीँ अलपत्र परेका हुन् ।
समुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको उक्त चामल भारतको कोलकाताबाट तीन कन्टेनरमा नेपालगन्जसम्म ल्याइँदै थियो । चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर करिब डेढ महिनादेखि नेपालगन्ज भन्सार कार्यालयमा थन्किएका छन् ।
प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको हो । कन्टेनर नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमुना खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्ज पठाइएको थियो ।
प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि करिब डेढ महिनादेखि नाकामै रोकेर राखेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए ।
उनले गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियमानुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकिएको बताए । भन्सारले चामल भित्रिन नदिएपछि कन्टेनर भन्सारमै थन्किएका छन् । विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटक–पटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आउने गर्छ ।
यसअघि २०७२ मा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको ५१४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो । राहतको नाममा मानव जीवन नै जोखिममा पर्ने कार्य हुन नदिन सम्बन्धित सबै निकाय सचेत हुनुपर्ने सरोकारवालाहरु बताउँछन् । राहत र सहयोगको नाममा प्राप्त हरेक प्रकारको खाद्य वस्तुको गुणस्तर परीक्षण अनिवार्य बनाउनुपर्छ ।
सत्यपाटी संवाददाता । बाँके