सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा विद्या र रामचन्द्र दुई राष्ट्रपति !

बिहिबार राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले निर्वाचन आयोगबाट राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र पाइसकेका छन् । उनलाई राष्ट्रपतिको रुपमा नेपाली सेनाले सुरक्षा प्रदान गरिसकेको छ ।

निर्वाचित भएको भोलिपल्ट पौडेलले सुन्दरीजलस्थित विपि संग्राहालय पुगेर त्यहाँ रहेका कांग्रेस नेताहरुको सालिकमा माल्यार्पन गरेका छन् भने त्यहाँ राखिएको पुस्तिकामा राष्ट्रपतिको तर्फबाट सन्देश लेखेर हस्ताक्षर गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपनि पौडेल आफ्नै निजी निवासमा बसिरहेका छन् ।

उता शितल निवासमा पनि राष्ट्रपतिको रुपमा विद्या भण्डारी कायमै रहेकी छिन् । उनको पदावदी फागुन २९ गतेमात्र सकिँदैछ । उनले आफ्नो पद समाप्त भएको दिनमात्र शीतल निवास छोड्ने तयारी गरेकी छन् । राष्ट्रपति पौडेलले यही फागुन २९ गते कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट सपथ खाँदैछन् ।

राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रमका बीच सपथ ग्रहण समारोह हुनेछ र त्यहीँ राष्ट्रपति भण्डारीले राष्ट्रपति पौडेललाई पद हस्तान्तरण गर्नेछिन् । पौडेल हाल निर्वाचित राष्ट्रपति मात्र रहेकोले सपथ लिएको दिनदेखि राष्ट्रप्रमुखको भूमिकामा अग्रसर हुनेछन् । पौडेलले कामु प्रधानन्यायाधीशबाट सपथ लिएसँगै राष्ट्रपति भण्डारीको पदावदी समाप्त हुने संवैधानिक ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ०८:२४