सूचनाको शक्ति - The Power Of Information

        

बच्चालाई एक वर्षसम्म नखुवाउनुस् गाईभैँसीको दूध

आमाको दूध शिशुहरूका लागि सबैभन्दा उत्तम आहार हो । आमाको दूध पर्याप्त नभएको अवस्थामा पनि शिशु एक वर्ष पुरा नहुँदासम्म जनावरको दूध नखुवाउन चिकित्सकहरू सल्लाह दिन्छन् । किन खुवाउनु हुँदैन त एक वर्षसम्म गाई भैँसीको दूध ?

परोपकार प्रसूति गृहकी नवजात शिशु विभाग प्रमुख डा.कल्पना उपाध्याय सुवेदी भन्छिन्, ‘गाई भैँसीको दूधमा प्रोटिनको मात्रा धेरै हुँदा एक वर्षभन्दा कम उमेरको शिशुले त्यसलाई पचाउन सक्दैनन् र मिर्गौलामा असर पनि पुग्न सक्छ ।’

सकेसम्म आमाको दूधमात्रै खुवाउने र आमाको दूधले नपुगेको अवस्थामा बट्टाको दूध (इन्फ्यान्ट फर्मुला मिल्क) खुवाउन डा. सुवेदी सुझाव दिन्छिन् । फर्मुला मिल्कमा प्रोटिनको मात्रा कम हुने, भिटामिन, मिनरल्सजस्ता तत्वहरूको मात्रा मिलाएर मिसाइएको हुँदा आमाको दूध नपुगेको खण्डमा यसलाई पनि उत्तम मानिएको हो ।

तर, फर्मुला मिल्क खुवाउँदा शिशुलाई निप्पलको प्रयोग नगरी चम्चाबाटै खुवाउन डा. सुवेदी सुझाउँछिन् । त्यतिमात्रै नभइ एक वर्ष पुरा नभएका शिशुहरूलाई अण्डा मासुजस्ता हेभी खानेकुरा पनि नखुवाउन उनको सुझाव छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ०७:५१