सूचनाको शक्ति - The Power Of Information

        

विश्वका सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रो नम्बरमा

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने विकेटका हिसावले विश्वभरका बलरहरुको सूचीमा दोस्रो स्थान पुगेका छन् । उनी सन् २०२३ मा सर्वाधिक विकेट लिने सूचीको दोस्रो नम्बरमा छन् । उनले हालसम्म खेलेका ८ म्याचमा २२ विकेट लिएका छन् ।

दोस्रो नम्बरमा रहेका बलरसँग सन्दीपको निकै ठूलो दुरी छ । सन्दीपको औसत र इकोनोमी पनि निकै राम्रो छ । उनले औसत १५.०९ बलमा विकेट लिइरहेका छन् भने प्रतिओभर ४.१८ रन मात्रै खर्चिएका छन् । आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ ।

नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट लिएका सन्दीपले यूएईको श्रृंखलामा पहिलो म्याच गुमाएका थिए । आज भएको दोस्रो म्याचमा उनले आफ्नो लय कायम राख्दै शानदार प्रदर्शन गर्न सफल भए । सन्दीपले केवल २७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

लिग २ मा सर्वाधिक विकेट लिने बलरको सूचीमा ओमानका बिलाल खान छन् । उनले ३५ म्याचमा ७६ विकेट लिइसकेका छन् । विलालभन्दा १० म्याच कम खेलेका सन्दीपले ५८ विकेट लिँदै दोस्रो स्थान बनाएका हुन् । अमेरिकाका एसएन नेत्रभल्करले पनि ५८ विकेट नै लिएका छन्, तर उनको भन्दा सन्दीपको स्ट्राइक रेट राम्रो छ ।

नेत्रभल्करले पनि सन्दीपभन्दा १० म्याच बढी खेलेका छन् । नामिबियाका आर ट्रिम्पेलम्यानले ६ म्याचमा १५ विकेट लिँदै दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका भारतका मोहम्मद सिराजले ५ खेलमा १४ विकेट लिएका छन् । सिराज अहिले आइसीसी विश्व वरियताको पहिलो नम्बरमा रहेका बलर हुन् । सर्वाधिक विकेट लिने टप १० बलरमा नेपालकै करण केसी पनि छन् ।

केसीले अहिलेसम्म ९ म्याच खेल्दा १३ विकेट लिएका छन् । उनी सूचीमा छैटौं नम्बरमा छन् । उनको एभरेज र इकोनोमी भने खराब छ । औसत ३१.३८ बलमा एक विकेट लिइरहेका करणले प्रतिओभर ५.७३ रन खर्चेका छन् । यो वर्ष सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा पनि नेपालको इन्ट्री भएको छ ।

नेपाली ओपनर आसिफ शेख अहिले सूचीको तेस्रो स्थानमा उक्लिएका छन् । हिजोकोखेलमा पीएनजीविरुद्ध सतक बनाउँदै उनी तेस्रोमा चढेका हुन् । आसिफले हालसम्म ९ खेलमा ३६५ रन बनाएका छन् । उनले ४५.६२ को औसतमा यति रन बटुलेका हुन्, जसमा एक सतक र दुई अर्धसतक सामेल छन् ।

सर्वाधिक रन बनाउनेको सूचीमा भारतका बिराट कोहली र रोहित शर्मा, ईङ्ल्यान्डका डेविड मलान र डेभोन कोनवे आसिफभन्दा पछाडि छन् । सर्वाधिक रन बनाउनेको टप १० ब्याट्सम्याको सूचीमा नेपालका कुशल मल्ल र रोहितकुमार पौडेल पनि छन् । उनीहरुले क्रमशः २९५ र २६४ रन बनाउँदै आठौं र दशौं स्थान कायम गरेका हुन् ।

नेपालकै कुशल भुर्तेल १३ औं नम्बरमा रहेका छन् । उनले २३९ रन बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा भारतका सुवमन गिल पहिलो स्थानमा छन् । उनले ६ खेलमा नै ६५७ रन बनाइसकेका छन् । उनको औसत ११३ भन्दामाथि छ भने स्ट्राइक रेट पनि उच्च छ । दोस्रो स्थानमा रहेका ईंग्ल्यान्डका जोस बटलरले ३७२ रन बनाएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १८:२६