प्रहरीमा काज सरुवाको ‘बेथिति’ मौलाएको छ । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको दशौं दिनमा पुनः २१ जना इन्स्पेक्टरको काज निकालेको छ ।
आइजीपी धिरजप्रताप सिंहको निर्णय अनुसार कर्मचारी प्रशासन शाखाका एसपी बेलबहादुर पाण्डेले काज निकालेका हुन् । फागुन १६ मा प्रधान कार्यालयले १३९ जनाको काज सरुवा सूची प्रकाशन गरेको थियो ।
सो काज भएको दशौं दिनमा फेरी २१ जनाको काज निकालिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण प्रहरी प्रधान कार्यालयले पुरानै मिति ‘ब्याक डेट’मा इन्स्पेक्टरहरुको काज गरेको छ ।
प्राप्त सुचीअनुसार शुक्रबार गरिएको काज निर्णयको पत्रमा फागुन १६ गतेको मिति उल्लेख गरिएको छ । पुरानो मितिमा इन्स्पेक्टर दिपक केसीलाई वडा प्रहरी कार्यालय चितवनबाट गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको छ । वृत्त लैनचौरमा कार्यरत लोक बहादुर विष्टको काज रद्ध गरिएको छ ।
यसअघि विष्टलाई वडा प्रहरी कार्यालय (क) महेन्द्रनगर कञ्चनपुरमा काज सरुवा गरिएको थियो । इन्स्पेक्टर देवेन्द्रसिंह बुढाथोकीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, विजय कार्कीलाई इलाका प्रहरी कार्यालय गौरीगन्ज झापा, कृष्ण रानामगरलाई इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुमा सरुवा गरिएको छ ।
प्रविण कार्कीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा सरुवा गरिएको छ । राजन रायमाझीलाई इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा सरुवा गरिएको छ । ईप्रका खुर्कोटमा सविता केसी, बसन्त आचार्यलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र सालिकराम तिमिल्सिनालाई वडा प्रहरी कार्यालय बगर, कास्कीमा सरुवा गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं