सूचनाको शक्ति - The Power Of Information

        

पाँच डीआइजी एआइजीमा सिफारिस

नेपाल प्रहरीमा को बन्ला आइजीपी ?

एआइजीमा बढुवा हुने पाँचै जना आइजीपीको दावेदार हुन् ।

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डीआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा सिफारिस भएका छन् । रिक्त रहेको पाँच एआइजीका लागि गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार उनीहरुलाई सिफारिस गरेको हो ।

बढुवा सिफारिसको सूची अनुसार पहिलो नम्बरमा वसन्त कुँवर छन् भने दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि कुवँर पहिलो र राई दोस्रोमा थिए ।

चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए । तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक–एक स्थान उक्लिएका हुन् । बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआइजीमा बढुवा गर्नेछ । एआइजीमा बढुवा हुने पाँच जनामध्येबाट एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछ ।

विगतमा वरियता वा ज्येष्ठताको पहिलो नम्बरमा रहेकालाई आइजीपी बनाउने गरिएको पनि अघिल्लो आइजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले त्यसलाई तजविजि अधिकारका रुपमा ब्याख्या गरेको थियो । सर्वोच्च अदालतको उक्त पछिल्लो फैसलाअनुसार एआइजीमा बढुवा हुने पाँचै जना आइजीपीको दावेदार हुन् । अहिलेका आइजीपी धिरजप्रताप सिंहले आगामी चैत १० गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १६:५८